
जनकपुर, असोज २० । प्रदेश नम्बर २ का लोकतान्त्रिक समाजवादी पार्टी दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको भन्दै अख्तियारले मारेको छापाको समर्थन गर्नुभएको छ ।
प्रदेश सभा बैठकमा बुधबार नेता सोनलले प्रदेश सरकारको ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमका लागि साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै भन्नुभयो, ‘मुख्यमन्त्री राउतको कार्यालयले गरेको साइकल खरिदमा भ्रष्टाचार भएको छ । तर मुख्यमन्त्री आफैँ कर्मचारीले थाहै नदिइ टेन्डर गरिदिए थाहा पाइनँ भन्दैछन् । त्यहीकारण मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मार्यो ।’
केही समय आफू पनि त्यही सरकारअन्तर्गत मन्त्री रहनुभएका सोनलले सुशासनको वकालत दिने मुख्यमन्त्रीले नै अख्तियार बोलाएको तर्क गर्दै भन्नुभयो, ‘सुशासनको नाममा मुख्यमन्त्रीले नै आफ्नै कार्यालयमा अख्तियारलाई बोलाए । मुख्यमन्त्री आफैं सुशासन कायम गर्छु भन्छन् तर अख्तियारले भ्रष्टाचार आरोपमा छापा मारिरहेको छ ।’
अख्तियारले छापा मार्दा मुख्यमन्त्री नै मशाल जुलुस निकाल्न निस्केकोमा कटाक्ष गर्दै सोनलले थप्नुभयो, ‘अख्तियारको छापाले संघीयता समाप्त हुँदैन । तर अख्तियार छानबिन गर्न आउँदा उसलाई प्रभावित गर्न हामी मसाल जुलुस निकाल्छौँ । अख्तियारले छानबिन गर्यो अब मुख्यमन्त्रीले मार्गप्रशस्त गरेर छानबिनमा सघाउनुपर्छ । यो नै उत्तम विकल्प हो ।’
भदौ ९ गते जनता समाजवादी पार्टी विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको ४३ दिनपछि मात्रै विश्वासको मत लिन लागिएकामा सोनलको संवैधानिक प्रश्न थियो, ‘सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हो तर थप १३ दिनसम्म यो सरकार कहाँ थियो ? संवैधानिक प्रावधानसमेत मिचेर यो सरकारले विश्वासको मत लिन खोज्दैछ, यो आपत्तिजनक छ ।’
प्रतिक्रिया दिनुहोस्