
काठमाडौं, असोज २१ । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको काठमाडौं –७ गणेशथान मन्दिरको पछाडिपट्टी बुलबुलेमा निर्माणाधीन घरको चार तलामाथिबाट खसेर मृत्यु भएको छ ।
बिहीबार बिहान सवा सात बजेतिर शव फेला परेको चतुर्वेदीले आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । सिसिटिभी फुटेजका आधारमा उनले हामफालेको जस्तो देखिएको काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिनुभएको छ । सिसिटिभी फुटेजमा पहिलो तलाबाट छिरेको, केहीबेरमा एकैचोटी भुइँमा बजारिएको मात्रै देखिएको प्रहरीले जनाएको छ ।
डिप्रेसनको बिरामी बताइएका चतुर्वेदीले त्यसको औषधिसमेत सेवन गरिरहेको प्रहरीको भनाइ छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका चतुर्वेदी कैद बसेर निस्किएका व्यक्ति हुन् । उनको घर काठमाडौं–७ स्थित धोबीखोला करिडोरमा रहेको छ ।
सार्वजनिक संस्थानमा काम गर्दा एक करोड ९० लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्दै चतुर्वेदीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको थियो । २०५९ सालमा अख्तियारले नियन्त्रणमा लिँदा चतुर्वेदी तीन महिना हिरासत बसेका थिए ।
पछि विशेष अदालतले उनलाई धरौटीमा छोडेको थियो । तर, २०६८ साल भदौ २१ गते सर्वोच्चले फैसला गर्दै चतुर्वेदीलाई भ्रष्टाचार मुद्दामा कसूरदार ठहर गरी दुई वर्ष सजायँ सुनाएको थियो । भ्रष्टाचार मुद्दामा जेल बसेर छुटेदेखि नै उनी तनावमा थिए।
प्रतिक्रिया दिनुहोस्