२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दशैंका लागि जुट्यो जनकपुर


0
Shares

काठमाडौं, असोज २१ । नेपालीहरुको महान चाड दशैंको उपलक्ष्यमा जनकपुरको विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ ।

बडा दशैंको उपलक्ष्यमा जनकपुरको ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको हो ।

शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरुपा दूर्गाको मूर्ति स्थापना गरी दशैंमा पूजाअर्चना गर्ने गर्न तयारी गरिरहेका छन् । राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित अन्य स्थानमा मूर्ति स्थापना गरी पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्व जडान गर्ने कार्य शुरु भइसकेको छ ।

राजा जनकका कुलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा आकर्षक पण्डाल र भिलिमिल बत्तीहरु जडान गर्ने कार्य करिव पूरा भइसकेको महावीर युवा कमिटीले जनाएको छ । पण्डाल, बत्तिलगायत पूजा व्यवस्थापन गर्न १० लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । मन्दिरका मुलपुरोहित गणेश झाले मन्दिरमा पररम्पगत रुपमा हुने गरिएको पूजाको साथै तान्त्रीक विधिको अनुसार समेत पूजा गरिने बताउनुभयो । उहाँले मन्दिरमा तान्त्रिक विधि अनुसार पूजा हुने गरिएकै कारण दशैँभर महिलाहरुलाई राजदेवी मन्दिरमा पूजा गर्न वर्जित गरिएको पनि बताउनुभयो ।

त्यस्तै घटस्थापनादेखि शुरु हुने पूजाअर्चना विजया दशमीसम्म चल्ने बताउँदै क्लबका अध्यक्ष मनमोहन शाहले दशैंलाई भव्य बनाउन नियमित पूजाका साथै भजन सन्ध्या लगायतको कार्यक्रम गरिने जानकारी दिनुभयो । उहाँले स्थानीय रामानन्द युवा क्लव हरेक वर्ष झैँ यस वर्ष पनि माटोको मूर्ति निर्माण गरी पूजाको तयारीमा जुटेको बताउँदै पूजालाई भव्य बनाउन क्लबले रामानन्द चोकमै पण्डाल निर्माण थालेको जानकारी दिनुभयो ।

जनकपुरको मुरली चोक, भ्रमरपुरा चोक, पिडडीया माइस्थान, रजौल लगायतको क्षेत्रका युवा क्लबहरु पनि दशैंको तयारीमा जुटेका छन् । अन्य दिन चाँडै बन्द हुने जनकपुर दशैँ शुरु भएपछि राति अबेरसम्म खुल्ला रहने गर्दछ । धार्मिक स्थलहरुमा हुने भजनकिर्तन तथा धार्मिक कार्यक्रमले जनकपुरमा छुट्टै रौनक छ ।