
काठमाडौं, असोज २१ । बडा दशैं सुरु भएसँगै काठमाडौं उपत्यकामा खसी–बोका उतार्न थालिएको छ । तर यस पटक कोरोना संक्रमणलाई कारण देखाउँदै मूल्य भने बढेको छ । कोरोना संक्रमणको जोखिम कम भएकाले खसी–बोका किन्नेहरुको संख्या बढ्दो छ । पशु चौपायाको स्वास्थ्य परीक्षण गरेर मात्र ल्याइएको व्यवसायीले जनाएका छन् ।
अघिल्ला वर्षहरुमा जिउँदो च्याङ्ग्रा प्रति केजी ७/८ सय रुपैयाँ पर्ने गरेकोमा अहिले दोब्बर प्रति केजी १३/१४ सय रुपैयाँ मूल्य परेपछि उपभोक्ता महङ्गीको चपेटामा परेका छन् । हिमाली जिल्लाका साथै मित्रराष्ट्र चीनको सिमावर्ती गाउँबाट च्याङ्ग्रा ल्याइन्छ । सीमा नाका नखुल्दा च्याङ्ग्राको मुल्य आकाशिएको हो ।
यता, काठमाडौंमा अहिले मकवानपुर, धादिङ, गोरखा तथा रसुवाको दक्षिण भेग र नुवाकोटबाट खसी–बोका ल्याइएको छ । जिउँदो खसी बोकाको प्रतिकेजी ७÷८ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि खसी–बोका बिक्री गर्दै आएको छ । कम्पनीले भोलिदेखि बिक्री थाल्ने बताएको छ । काठमाडौंमा दशैँको बेला खसी–बोकाको मासु ११ लाख किलो भन्दा बढी खपत हुने गरेको अनुमान गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्