
काठमाडौं, असोज २२ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसदअवरुद्ध गरेकाले सरकारले निजामती सेवा विधेयक फिर्ता लिनु परेको बताउनु भएको छ ।
कांग्रेस सांसद बडुले जरुरी कानूनहरु समेत पास गर्न नदिने गरी प्रमुख प्रतिपक्ष दलले गैरजिम्मेवार ढंगले संसदअवरुद्ध पारेपछि सरकारले विधेयकहरु फिर्ता लिएर अध्यादेशको सहारा लिनुपर्ने अवस्था आएको दावी समेत गर्नुभयो ।
त्यसैगरी सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद सरदसिंह भण्डारीले पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेकाले कानून बनाउने काम अघि बढन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
सांसद भण्डारीले संसदीय पद्धति, संसदीय मर्यादा र संसदीय अभ्यास विपरित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदलाई पंगु बनाउने काम गरिरहेको आरोप समेत लगाउनुभयो ।
उहाँले, ‘संसदीय पद्धति, संसदीय मर्यादा, संसदीय अभ्यासलाई भत्काउने काम सुरु भएको छ । संसदलाई पंगु बनाउने र डिफल्ट बनाउने काम सूरु भएको छ । यो असाध्यै चिन्ताको विषय हो र हामी यो विषयमा चिन्तित छौं । किन भन्नुहुन्छ भने संसद भनेकै विधान बनाउने अथवा कानुन बनाउने ठाउँ हो । तर अहिले जुन किसिमको अन्यौल र अराजकताको स्थिति आएको छ । त्यसलाई चिर्नका लागि आएका अध्यादेशहरुलाई प्रतिस्थापन गरेर संसदबाट पास गर्नुको साटो फिर्ता लिईराखेको छ । यसले मुलुकलाई अधोगतितर्फ लगि राखेको छ ।’
प्रतिक्रिया दिनुहोस्