
काठमाडौं, असोज २२ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा आफूले सबैभन्दा बढि ध्यान केन्द्रित गर्ने बताउनु भएको छ ।
नवनियुक्तमन्त्री खतिवडाले अनियमितता, भ्रष्टाचारलगायतका कुराहरुलाई अन्त्य गर्न कामै गरेर देखाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । शुक्रबार साँझ सिंहदरवारमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटले देखाएका कामहरुलाई समयमै सम्पन्न गर्ने काममा पनि आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।
नवनियुक्त मन्त्री खतिवडाले भन्नुभयो, ‘नेपाललाई कोरोनामुक्त बनाउने अभियानमा हामी सबभन्दा बढि ध्यान केन्द्रित गर्छौं । र यस मन्त्रालयसँग गाँसिएका सबै काम बजेटले देखाएका र गर्नुंपर्ने कामहरु त्यसलाई समयमै सम्पन्न गर्ने र बाहिर चर्चामा आउने गरेका अनियमितता, भ्रष्टाचारलगायतका कुराहरु नियन्त्रण गरेर देखाउने काममा मेरो ध्यान केन्द्रित हुनेछ ।’
नवनियुक्त मन्त्री खतिवडाले सत्तारुढ गठबन्धनले तयार पारेको न्यूनतम साझा कार्यक्रम र प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समग्रतामा आफ्नो कामलाई अघि बढाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्