
गृष्मा राजभण्डारी
काठमाडौं, असोज २४ । दशैं भन्नासाथ परिवारका सबै सदस्य एकै ठाउँ भेला भएर राम्रो लाउने र मीठो खाने दृश्य आँखा वरिपरि घुम्छ । दशैं मनाउन घर फर्किनेहरुको भीड बढिरहेका बेला कतिपय नेपाली दशैंको माहोल र परिवार छोडेरवैदेशिक रोजगारीका लागि घर छोड्न बाध्य छन् । चाडवाडका बेला परिवारसंगकोविछोड उनीहरुका लागि उठी सुख, न बसी सुख भएको छ ।
कोभिडको संक्रमण कम भएसँगै यसवर्ष परिवारसंग हाँसीखुसी दशैं मनाउने थुप्रै नेपालीको रहर छ । त्यसैको प्रभाव बसपार्क, विमानस्थल, बजार जताततै देखिन्छ । तर चाडबाडको रमाइलो माहोल चटक्कै छाडेर थुप्रै युवा भारी मन लिएर घरदेश छोडी परदेश लागेका छन् । परिवारका सदस्यको दशैं राम्रो बनाउन उनीहरु घर छोड्न बाध्य भएका हुन । परिवारसंग दशैं मनाउन नपाएको पीडाले मन गाँठो परेको छ ।
अरुबेला भन्दा चाडपर्वमा घर छोडदाको पीडा थामिनसक्नु हुने अनुभव उनीहरुको छ । आफ्नो देशमा रोजगारी छैन । विदेश नजाउँ रोजीरोटी नचल्ने, जाउँ परिवारको चिन्ताले लखेटने । उनीहरुको प्रतिप्रश्न छ– आफ्नै देशमा काम भएको भए अर्काको देशमा जाने रहर कसलाई हुन्थ्यो र ?
विमानस्थलमा आँसु मात्र हैन हाँसो पनि फर्किएको छ । वर्षौंदेखि जन्मभूमिसंग टाढा भएकाहरु दशैं मनाउन घर फर्किएका छन् । उनीहरुको अनुहारमा खुसीको चमक बेग्लै छ ।
दशैंले कतै मिलन, कतै विछोड ल्याएको छ । त्यसैले दशैं पात्रोमा हैन, मनमा आउनुपर्छ । जे भएपनि चाडपर्वमा परिवार छोडेर विदेशिनुपर्ने बाध्यताबाट नेपालीले मुक्ति पाएका दिन यो पर्वको साख अझ उच्च हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्