
विराज रोस्यारा (ईमेज)
कैलाली, पुुस १८ ।
राजनीतिक पहुँचको गलत फाइदा उठाउँदै कैलालीमा दिना नुदिन वन अतिक्रमण हुने क्रम बढेको छ । राजनीतिक तथा वन कर्मचारीसँग सम्बन्ध भएकाहरुले वन अतिक्रमण गरी धमाधम पक्की संरचना बनाइरहेका छन् ।
पहुँच र शक्तिको भरमा कैलालीका वन अतिक्रमणको चपेटामा पर्दै गएका छन् । देशमै सबैभन्दा बढी कैलालीमा वन अतिक्रमण भएको तथ्यांकले यसलाई पुष्टि गरेको छ ।
स्थानीय तहमा विभिन्न बहानामा वनमाथिको ज्यादती दिन प्रतिदिन बढ्दै गएको हो । जिल्लाका १३ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी गोदावरी नगरपालिकामा वनको अतिक्रण डरलाग्दो छ । वन कर्मचारीको बेवास्ता र जनप्रनितिधिको संरक्षणमा भूमाफियाहरु वन अतिक्रमणमा उद्यत बनेका हुन् ।
गोदावरी नगरपालिकामा पर्ने मालाखेती सामुदायिक वन, चाहना सामुदायिक वन र दुर्गालक्ष्मी सामुदायिक वनमा अतिक्रमण बढी भइरहेको छ । जनप्रतिनिधिले निहित स्वार्थ पूर्तिका लागि आफू निकट व्यक्तिलाई अध्यक्षमा राखेर वन अतिक्रमण गर्दै आएको स्थानीयको आरोप छ ।
वडाका जनप्रतिनिधीले अतिक्रमण भएको सरकारी जग्गा फिर्ता गर्नु पर्ने बेला आफै अतिक्रमणमा लागे पछि नियन्त्रणमा समस्या हुँदै आएको छ । वन पदाधिकारीकै संरक्षणमा मालाखेती सामुदायिक वन क्षेत्रमा जमिन अतिक्रमण गरी पक्की घर तथा व्यापारिक प्रायोजनका लागि सटरहरु समेत निर्माण भइरहको आरोप लागिरहेको छ ।
सामुदायिक वनका पदाधिकारी भने विगतमा बाढी पीडित भएकाहरुलाई वनमा राखिएकाले हटाउन समस्या भएको बताउँदै आएका छन् । यता, डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेल भने वन अतिक्रमण हटाउने अभियान जारी रहेको दाबी गरे ।
जनप्रतिनिधिहरु अतिक्रमण हटाउनुको सट्टा निकटका व्यक्तिलाई संरक्षण दिँदै अतिक्रमणलाई बढावा दिने काम गरिहेको आरोप लागे पनि सम्बन्धित निकाय भने रमिते बनेर बसेको छ ।
प्रतिक्रिया दिनुहोस्