२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


महिनावारी भएको ५ देखि ७ दिनमा स्तन परिक्षण गर्न महिलालाई चिकित्सकको आग्रह


0
Shares

काठमाडौं, असोज २५ । महिनावारी भइसकेका सबै महिलाहरुले महिनावारी भएको ५ देखि ७ दिनको बीचमा स्तन परीक्षण गर्न जरुरी रहेको चिकित्सकहरुले बताएका छन् ।

स्तन क्यान्सर जनचेतना महिनाको अवसरमा पाटन अस्पतालले गरेको कार्यक्रममा चिकित्सकहरुले महिनाको एक पटक आफनो स्तन आफैले परीक्षण गर्न महिलालाई आग्रह गरेका हुन ।

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले गर्भवती र महिनावारी सुकेका महिलाले स्तन परीक्षण गर्नु पर्ने बताउनुभयो । नेपालमा प्रत्येक दिन ६ जना महिलामा स्तन क्यान्सरको समस्या देखिने गरेको छ भने ३ जना महिलाको मृत्यु हुने गरेको छ ।

भक्तपुर क्यान्सर अस्पतालका रेडियसन अङ्कोलोजिष्ट डा. उज्जवल चालिसेले नेपालमा सबै तिर क्यान्सर रोग पत्ता लगाउने उपकरण अभावका कारण समस्या बढेको बताउनुभयो । क्यान्सरको उपचारमा अतिआवश्यक रेडियसन मेसिन समेत चितवन, झापा र काठमाडौमा मात्र भएका कारण पनि धेरै व्यक्तिले समयमा नै उपचार नपाउने समस्या रहेको उहाँले बताउनुभयो ।

क्यान्सर रोग विशेषज्ञ डा. मदन मदन पिया र डा. सन्तमान महर्जनले क्यान्सर रोग उपचार निकै खर्चिलो भए पनि सुरुवाती अवस्थामा नै पहिचान हुन सके पुर्ण रुपमा निको हुने बताउनुभयो ।

किमो , रेडियोथेरापी र सल्यक्रिया विधिवाट उपचार हुने क्यान्सर रोगवारे व्यक्ति आफै सचेत हुनु पर्ने उनीहरुको धारणा छ । विश्व भर अक्टुवर महिनालाई स्तन क्यान्सर जनचेतना मुलक महिनाको रुपमा मनाउने गरिएको छ ।