
गृष्मा राजभण्डारी
काठमाडौं, असोज २५ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेको तीन महिनासम्म सरकार विस्तार भएन । सरकारले पूर्ण आकार नपाउँदा त्यसैलाई अत्तो थापेर सरकारी संयन्त्र निष्क्रिय भए । सरकार विस्तार भएपछि नवनियुक्त मन्त्रीहरुले दिनरात नभनी काम गर्ने प्रतिवद्धता जनाए । सपथ खाएको चारदिनपछि कार्यकक्ष पुग्दा अधिकांश मन्त्रीको कार्यकक्ष खाली थियो । कार्यालयमा भएकाहरु भेटघाटमा व्यस्त देखिन्थे ।
नवनियुक्त धेरै मन्त्री अहिले अविरजात्रा र खादाको सत्कार खान जिल्लामा व्यस्त छन् । सपथ लिएको भोलिपल्टै उनीहरु आफ्नो निर्वाचन क्षेत्रमा हाँकिएका हुन । दशैं विदाअघि हामी मन्त्रीले कसरी दशैं मनाउँदै छन ? भनेर बुझ्न कार्यकक्षमै पुगेका थियौं । सरकार विस्तार नहुँदा नेमप्लेट खाली थियो । तर अहिले नेमप्लेट फेरिएको तर सचिवालयको रुप रंग पहिलाजस्तै शून्य रहेको पाइयो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पुग्दा मन्त्रीको कार्यकक्ष बाहिर केही कार्यकर्ता मन्त्री भेटन आएका थिए । तर मन्त्री दशैं मनाउन घर गएका रहेछन् । महिला तथा बालबालिका मन्त्रालयको हालत उस्तै थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री रेणु कुमारी यादव भने कर्मचारीसंगको छलफलमा व्यस्त हुनुहुन्थ्यो ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेलको कार्यकक्ष पनि खाली थियो । कुर्सी रित्तै थिए । श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका कृष्ण श्रेष्ठले दशैं आफ्नै जिल्लामा मनाउने योजना सुनाउनुभयो । उहाँले सरकारी आवास र गाडी प्रयोग नगर्ने बताउँदै छिट्टै सम्पति विवरण सार्वजनिक गर्ने स्पष्ट गर्नुभयो ।
कतिपय मन्त्री आफ्नै कार्यकर्ता भेटन नचाहेको आरोप झेलिरहेका थिए । देश र जनताका नाममा सपथ खाने मन्त्रीहरुका लागि यो अग्निपरीक्षाको समय हो । तीन करोड जनताको व्यवस्थापकीय जिम्मेवारी बोकेका उनीहरुले कार्यालयमा बसेर निभाउने भूमिकाबाट देशको मार्गचित्र प्रष्ट हुने भएकाले संवेदनशील हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्