
काठमाडौं, असोज २६ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुन नसक्ने बताउनु भएको छ ।
विजया दशमीको अवसरमा देशवासीमा भिडियो सन्देश जारी गर्दै उहाँले देश भित्र र बाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरुमा शान्ति र सुखको लागि शुभकामना व्यक्त लोक कल्याणका हेतु राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने भए पनि राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको उहाँको भनाइ छ ।
उहाँले शाह वंशीय राजपद्धतिको इतिहासले राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिर कुनै पनि समस्याको समाधान नखोजेको र नखोज्ने प्रष्ट पार्दै हरेक नेपालीलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकार हुने उल्लेख गर्नुभएको छ ।
उहाँले सन्देशमा हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक नरहेको उल्लेख गर्दै हाम्रो राजनीति र राजकाजी चालचलन त्यसअनुरुप हुन नसकेको बताउनुभयो ।
कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तरसम्बन्धित हुने भन्दै उहाँले त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको भूमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त भन्दै प्रश्न समेत गर्नुभएको छ ।
उहाँले अहिले शिक्षा तथा स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टीकरण प्रशासनिक र राजनीतिक पेसाले सीमित व्यक्तिलाई फाइदा पु¥याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको सन्देशमा उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्