
काठमाडौं, असोज २६ । दशैं मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को लागेको छ ।
सुदूरपश्चिमका नागरिकहरुको रोजगारीको प्रमुख गन्तव्यस्थल भारतका विभिन्न शहरबाट चाडपर्व मनाउन गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको संख्यामा उल्लेखनीय वृद्धि भएको हो ।
गत दुई साता यता कञ्चनपुरको गड्डाचौकीबाट २४ हजार र गौरीफन्टा नाकाबाट दस हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । गौरीफन्टा नाकाबाट मात्रै दैनिक एक हजारदेखि एक हजार ५ सय जनासम्म नेपाल प्रवेश गरिरहेको त्रिनगर सीमानाकाका प्रमुख हेल्थ डेस्क दिनेश ठकुल्लाले बताउनुभयो । स्वदेश फर्किनेको भीड बढेसँगै प्रहरीले सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाएको बताउनुभयो ।
भारतको दिल्ली, मुम्बइ, महाराष्ट्र, पन्जाव, पुने, बैङ्गलोर, सिमला, हरिद्वारलगायतका शहरमा नेपाली रोजगारीका लागि सदियौंदेखि आउने जाने गरेको स्वास्थ्यकर्मी गणेश साउदले बताउनुभयो । उहाँले भारतबाट गाउँ फर्किनेबाट कोभिड संक्रमणको जोखिम रहेकाले सीमामा कोरोना परीक्षण र खोप लगाउने कामलाई पनि तीव्रता दिइएको बताउनुभयो ।
उहाँले कोरोनाका साथै नेपाल फर्किनेहरुको सीमामा मलेरिया र एचआईभीको परिक्षण पनि गरिएको बताउनुभयो । गड्डाचौकी र गौरीफन्टा नाकामा सुरक्षाका दृष्टिकोणले कुकुर परिचालन गरेर पनि निगरानी बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्