
काठमाडौं, असोज २६ । मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
२४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रममा र नेपालगञ्ज पुर्याएका थप ४ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभएकाे छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चार जनाकाे उपचारका क्रममा बाँकेको नेपालगन्जमा मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । उपचारको लागि पठाइएका १६ जना घाइते मध्येबाट चार जनाको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् । २४ जनाको घटनास्थलमै, ४ जनाको मुगुको ताल्चा विमानस्थलमा, ४ जनाको उपचारको क्रममा नेपालगन्जमा र १ जनाको बाँकेको कोहलपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको भे १ ख १६७ नम्बरको बस पिनामा खोलामा दुर्घटना भएकाे हाे ।
दशैंका लागि घर हिँडेका यात्रु लिएर गमगढी जाँदै गरेको बस पिनामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
बसमा ३९ जना सवार रहेको प्रहरीले जनाएको छ । बस सडकबाट तीन सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनास्थल अफ्ठ्यारो ठाउँमा रहेकाले एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा डिएसपी चित्रबहादुर भट्टराईसहितको टोली पुगेर उद्दारको प्रयास गरिरहेको बताइएको छ । उद्दारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्