
काठमाडौं, पुस १८ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरूद्ध मुद्दा दायर भएको छ ।
ढुंगाना र उनकी श्रीमतीविरूद्ध ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ बिगो माग्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उपसचिव ढुंगानाले पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टी भएको अख्तियार दुरुपयोग आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति निकाली जानकारी दिएका छन् ।
ढुंगानाले स्रोत नखुल्ने सम्पत्ति उनले आफूलगायत श्रीमती मधुको नाममा राखेको अख्तियारले जनाएको छ ।
ढुंगानाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति (२०४९) देखि २०७५ सम्म आर्जन गरेको वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ हुने जनाउँदै अख्तियारले तर उक्त अवधिमा उनले गरेको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३५१ अस्वभाविक देखिएको र त्यसमध्ये ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँको स्रोत नखुलेको जनाएको छ ।
ढुंगानासँग गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको बिगो जफत गरी पाउन पनि अख्तियारले माग गरेको छ । मधुका नाममा रहेको गैरकानुनी रूपमा आर्जित सम्पत्ति पनि जफत गर्न अख्तियारको माग छ ।
प्रतिक्रिया दिनुहोस्