२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उपत्यकामा खसी बोकाको बिक्री कम हुँदा व्यापारी निरास


0
Shares

काठमाडौं, असोज २७ । काठमाडौं उपत्यकामा खसी बोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन् ।

कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो गरेका छन् । कोरोना महामारीले गर्दा कतिपयले रोजगारी नै गुमाएको अवस्था रहेको र कतिपय मानिसहरु गाउँमा दशैं मनाउन गएकोले काठमाडौंमा खसी बोका व्यापार कम भएको बताएका छन् ।

खसी बोकाको व्यापारमा काठमाडौंका स्थानीय व्यापारीहरुको राम्रो व्यापार भएपनि बाहिरबाट खसिबोका लिएर आउने व्यापारीहरुले परलमोल नै उठाउन नसकेको गुनासो गरेका छन् ।

काभ्रेबाट खसि बोका बिक्री गर्न भन्दै बबरमहलमा आउनुभएका जनक लामाले गत वर्षको तुलनामा यस वर्ष व्यापार हुन नसकेको बताउनुभयो । गत वर्ष ३ सय खसि बोका ल्याउँदा फूलपातीकै दिन बेचेर जाने गरेको बताउँदै उहाँले यस वर्ष अझै सय वटा बोका बेच्न बाँकी रहेको बताउनुभयो ।

व्यापारी लामाले भन्नुभयो, ‘यस वर्ष पोहोरको तुलनामा आधा पनि व्यापार भएको छैन, सबै जना गाउँ गएको हो कि,खाने मान्छे नै नभएको हो कि ?महंगोले पनि होला,मैले साढे तीनसय ल्याएको थिएँ, अझै १ सय वटा बाँकी छ, पोहोर फूलपातीकै दिन सकाएर जान्थ्यौँ, यसपाली सय वटाबाँकी नै छ, मैले ६ सयदेखि ६५० सम्ममा बिक्री वितरण गरिरहको छु ।’

त्यस्तै धादिङबाट खसी बोका ल्याएर भृकुटीमण्डपबाट बेच्दै आउनुभएका परशुराम चौलागाँईले पनि गत वर्षको जस्तो व्यापार नरहेको बताउनुभयो । उहाँले यस पटक खसि किनेको परलमोल नै उठाउ हम्मेहम्मे परेको गुनासो गर्नुभयो । उहाँले कोरोनाका कारण ग्राहकहरुको खरिद शक्ति नभएको बताउनुभयो ।

चौलागाइँले भन्नुभयो, ‘पहिला महंगो भयो, अहिले आएर घट्यो, त्यसैले यताका व्यपारीहरु सबै गाउँमा पसे, गाउँमा ६५० भयो, व्यपारीहरुमा नै प्रतिष्पर्धा भयो, पोहोर आजका दिनसम्म खसि किन्नेहरुले झम्टिएर लैजान आइपुग्थे यस वर्ष त्यति व्यापार हुन सकिरहेको छैन, अहिले २२, २५ हजारको खसिलाई १४ हजार दिन आउँछन्, हामीले साउँसम्म उठाउन पाए हुन्थ्यो भनेर बेचिरहेका छौँ, खोरमा हरायो भने पनि केही पैसा नपाउने रहेछ, आफैँ चिनेर लैजानुस् भन्ने, कहाँ खोज्न जानु ? हराएपछि आफैँलाई घाटा छ । ३५,४० वटा बेचिसक्यौँ, अब १०,१५ वटा बाँकी छ, कोरोनाले असर गरेको छ, व्यापारीहरुलाई त छँदै छ, ग्राहकहरुसँग पनि पैसा कमाएका छैनन्, अनि कसरी खसि किन्नु ।’

उहाँले कोरोना महामारीले गर्दा खसी बोका बिक्री वितरण हुन नसकेको बताउनुभयो । बाहिरबाट खसिबोका र च्यांग्रा बिक्री गर्न काठमाडौं आएका व्यापारीहरु चाहे जस्तो व्यापार नहुँदा निरास देखिएका छन् ।