२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मध्यपहाडी राजमार्गको कास्की पश्चिम खण्डको निर्माण अन्तिम चरणमा, माघसम्म सबै काम सकिने


0
Shares

काठमाडौं, असोज २७ । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी राजमार्गको कास्की पश्चिम खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ ।

पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किलोमिटर सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । आगामी माघ महिनाभित्र सो खण्डको सम्पूर्ण काम सम्पन्न हुने आयोजनाले जनाएको छ ।

फेदीदेखि घट्टेखोलासम्मको दुई किलोमिटर सडकबाहेक अन्य सबै स्थानमा कालोपत्रे सकिएको छ । याम्दीदेखि सुइखेत र सुइखेतदेखि घट्टेखोला ६ किमी गरी दुई खण्डमा ठेक्का सम्झौता गरेर काम सुरु गरिएको थियो ।

सुरुमा विद्युत् पोल र खानेपानीको पाइप स्थानान्तरणको प्राविधिक समस्याले ढिलाइ भएको र पछि कोरोनाका कारण आयोजना प्रभावित भएर तीन पटक म्याद थप गरिएको थियो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राजमार्गको कास्की पश्चिम खण्ड याम्दीदेखि कास्की–पर्वत सीमाना नयाँपुलसम्म ३७ किमी पर्दछ ।

जसमा घट्टेखोला–नयाँपुलको २५ किलोमिटर सडकको काम यसअघि नै सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डको भैँसेदेखि याम्दीसम्मको सडक निर्माण भने अझै अन्योलमा छ । आयोजनाले याम्दी–सुइखेत खण्ड निर्माणका लागि २०७४ भदौमा सम्झौता गरेको थियो ।