
खिलनाथ ताजपुरीया
काठमाडौं, असोज २७ । सडक विभागले राजमार्गमा भएका खाल्डा खुल्टी समयमै मर्मत नगर्दा प्रायजसो काठमाडौं उपत्यकाबाट छुट्ने गरेका लामो दुरीका सवारी साधन गन्तव्यसम्म नपुग्दै दुर्घटनाको सिकार बन्ने गरेका छन् । पूर्व र पश्चिमका लागि छुट्ने सवारी साधन जोखिमपूर्ण बाटो तथा चालकको लापरबाहीले गर्दा दुर्घटना हुने गरेको छ । चालक सडक विभागलाई तत्काल खाल्डाखुल्डी पुरेर गाडी गुडने सहज वातावरण बनाइदिन आग्रह गर्छन् ।
दशैंको शुरुवात भएसँगै कास्की, मुगु र अछाममा भएको सवारी दुर्घटनाको अप्रिय समाचारले धेरैको मनमा त्रास फैलिएको छ । सम्भावित दुर्घटनाको जोखिमले यात्रुमा डर थपिएको छ भने चालकमा सुरक्षित गन्तव्यसम्म पुर्याउन थप दबाब बढेको छ ।
पूर्व र पश्चिमका लागि आफ्नो गन्तव्यसम्म जाने काउन्टरमा कोही टिकट काटिरहेका छन् त कोही बस कुरिरहेका छन् । अनि चालक पनि बस छुट्ने समयको प्रतिक्षामा देखिन्छन् ।
तर केही दिनयता भएको सवारी दुर्घटनाले दर्जनौ मानिसको असमायिक मृत्यु र घाइते हुनुपर्दाको पीडा सवारी चालक तथा सञ्चालकमा पनि छाएको छ ।
उनीहरु लामो रुटमा दैनिकी हुने दुर्घटनाको प्रमुख कारण सडक ठान्छन् । काठमाडौंबाट काँकटभिट्टासम्म छुट्ने रात्री बसका चालक सिएम लामा सरकारले समयमै सडकमा भएका खाल्टाखुल्टी मर्मत नगर्दा प्रायजसो दुर्घटना हुने गरेको बताउनुहुन्छ ।
सोही रुटमा चल्ने डिलक्स बसका सञ्चालक गणेश दाहालको भनाइ पनि उस्तै छ, सडकभरि खाल्डाखुल्टी छ । सडकको अवस्था चाल्नो जस्तो देखिने बताउनुहुन्छ ।
उसो त सडकमा हुने खाल्डाखुल्टीको समयमै मर्मत नुहनु एक कारण भएपनि यात्रुलाई सुरक्षित गन्तत्वसम्म पुर्याउने प्रमुख जिम्मेवारी लिएको सवारी चालकमा पनि त्रुटि हुने गरेको चालक नै स्वीकार्छन । काठमाडौंबाट महेन्द्रनगरसम्म चल्ने बसका चालक राजेन्द्र बहादुर चालकले बस छुट्नु अघिसम्म सवारीसाधन राम्ररी चेकजाँच गर्न भुल्दा दुर्घटनाको जोखिम हुने गरेको बताउनुहुन्छ ।
महेन्द्रनगरका लागि छुट्ने अर्को बसका चालक मनोज बहादुर विष्ट पनि खाल्डाखुल्डीका कारण चालकमा थकान बढ्ने र गाडीको यान्त्रिक चेकजाँचमा चुक्दा समस्या आउने बताउनुहुन्छ ।
दुर्घटना बढ्ने तर त्यसको स्वमित्व नलिने प्रतिस्पर्धाले कसैको हित गर्दैन । घटना भएपछि पानीमाथिको ओभानो हुनुभन्दा दुर्घटना न्यूनिकरणमा सामूहिक प्रतिवद्धता अहिलेको खाँचो हो । यात्रुले चालक, चालकले सञ्चालक अनि सञ्चालकले राज्यमाथि दोष थोपर्नु समस्याको निदान नभएर उठान हो ।
प्रतिक्रिया दिनुहोस्