
काठमाडौं, असोज २९ । हवाई सेवाप्रदायक कम्पनीका लागि दशैं व्यापारको राम्रो अवसर हो ।
निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दशैंको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको व्यापार भने सुस्त छ ।
निगमसँग उडानका लागि आवश्यक जहाज नहुदा र भएकाको पनि राम्रो व्यवस्थापन हुन नसक्दा आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ । यो समयमा निजी क्षेत्रका वायुसेवाको व्यापारमा भ्याइनभ्याइ हुँदा निगमका जहाज घाम तापेर बसेका छन् ।
आन्तरिक हवाई यात्राका लागि यात्रुको माग बढिरहँदा सरकारी लगानीको वायुसेवा निगम निरीह बनेको छ । निगमसँग अहिले १८ सिट क्षमताका दुई थान जहाज मात्र छन । ती पनि बेलाबेला बिग्रिरहन्छन । निगमसँग भएका दुई साना र चार थान वाई १२ जहाज बिक्रीको प्रक्रियामा छ ।
ती जहाज विमानस्थलमै थन्किएका छन । निगमले काठमाडौं बेस भएर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, भोजपुर र खोटाङको लामिडाँडा र थामखर्क विमानस्थलमा साना जहाजले उडान सेवा दिँदै आएको छ भने पश्चिमी पहाडी सिमकोट, बाजुरा, हुम्ला लगायत जिल्लामा उडान गर्ने गरेको छ ।
निगमको टिकटका लागि उच्च अधिकारीलाई माथिल्लो स्तरबाट ठूलै दबाब खेप्नुपरेको छ । निगमका एक उच्च अधिकारीका अनुसार दसैंमा सर्वसाधरणले टिकट पाउँदैनन, पावरवालाले सोर्सफोर्स गरेर मात्रै जहाज चढ्ने अवसर पाउँछन ।
अन्तर्राष्ट्रिय उडान र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भूमिस्त सेवा बापतको भरमा निगमले आफ्नो जीविकोपार्जन गरिरहेको छ । समस्याग्रस्त रहेको निगममा पछिल्लोपटक कर्मचारी ट्रेड युनियनको १०४ दिन लामो आन्दोलनले झनै अस्तव्यस्त पारेको छ । निजी एयरलाइन्सलाई यतिखेर यात्रुको माग धान्नै मुस्किल छ । तर नेपाल वायुसेवा भने कमजोर व्यवस्थापनका कारण नीजि कम्पनीको ब्यापार हेरेर बस्न बाध्य छ ।
प्रतिक्रिया दिनुहोस्