२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दशैंमा काठमाडौं शान्त र सुन्दर, धुलोधुवाँले छिचोली साध्य नहुने ठाउँ यतिबेला सौन्दर्यका प्रतिमूर्ति


52
Shares

खिलनाथ ताजपुरीया
काठमाडौं, असोज ३० । काठमाडौंका सडक र वस्ती यतिबेला शान्त र सुन्दर रहेको आभाष हुन्छ । सवारी जामले घण्टौंसम्म नपुगिने ठाउँ एकैछिनमा पार हुन्छ । अरुबेला धुलोधुवाँले छिचोली साध्य नहुने ठाउँ यतिबेला सौन्दर्यका प्रतिमूर्ति भएजस्तो लाग्छ । अरु त अरु सडकका रुखविरुवामा समेत प्राण भरिएको भान हुन्छ ।

न गर्मी, न जाडो, न भीडभाड, न प्रदूषण, न त शहरमा कान खाने गाडीको कर्कश आवाज । शारदीय मौसमको पहारिलो काठमाडौं ठ्याक्कै आदिकवि भानुभक्त आचार्यले बखान गरेजस्तै छ । सडकमा सवारी साधन र मानिसको चाप कम भएसंगै शहरले बान्की फेरेको आभास धेरैलाई भएको छ । धेरै मानिस दशैं मनाउन बाहिरिनु र यहाँ भएकाहरु पनि घरमा सीमित हुनुले काठमाडौंको काया फेरिएको भान भएको हो ।

यो त्यही तपाईंले देखेको दरबार मार्ग, रत्नपार्क, बानेश्वर, कोटेश्वर र ग्वार्कोको दृश्य हो । काठमाडौं उपत्यकाको प्राकृतिक स्वरुप कस्तो हो भन्ने छनक यी दृश्यमा देखिन्छ ।

मलिलो माटो, चिसो हावापानी, हिमालको काखमा रहेको काठमाडौंका अनगिन्ती सौन्दर्यगाथा छन् । यसको मर्मलाई निर्माण र विकासका नाममा हामीले नै प्रहार गरेका हौं । त्यसको पीडा दशकौंदेखि काठमाडौंले भोग्दै आइरहेको छ । केही दिन किन नहोस, काठमाडौंले होहल्ला र प्रदूषणबाट मुक्त पाएको छ ।

सडकको हरियाली, अनुशासित ट्राफिक व्यवस्थापन अपूर्व दृश्य नौलो जस्तै लाग्छन् । भीडभाडमा नदेखिएका दृश्य सुन्दर घडा बनेर उपस्थित देखिन्छन् । सडकका फूल बनस्पतिले सौन्दर्य छर्ने मौका पाएका छन् । अझ भनौं तपाईंको दृष्टि नै सहज बनेको अनुभव हुन्छ । यस्तै सुन्दर, शान्त र सफा काठमाडौं सबैको अपेक्षा हो ।