१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु, दुर्घटना घटाउन ल्याइएका योजना निष्प्रभावी


0
Shares

काठमाडौं, असोज ३१ । चाडवाडमा सवारी दुर्घटना हुने क्रम बढ्दो छ ।

प्रहरीले चाडवाडमा दुर्घटना न्यून गर्न अनेकौं कार्यक्रम ल्याएको भने पनि दुर्घटनाको दर घटेको छैन । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १२ जनाको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांकअनुसार दुई दिनमा सप्तरी, सुर्खेत, कैलाली धनुषा, मकवानपुर र बाँकेमा सवारी दुर्घटना भएका छन् । दुर्घटनाको ठूलो प्रतिशत दुईपांग्रे सवारी साधन मोटरसाइकलले ओगटेको छ ।

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका लामिबगरस्थित सडकमा ना १ ज ४५११ नम्बरको सुमो सडकबाट करिब २ सय मिटर तल खोल्सामा खस्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका १६ का ६२ वर्षीय बिष्णुलाल श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका ७ गोविन्दपुरका ५० वर्षीय रामसनही राम रहेका छन् । घाइते चालकसहित ८ जनाको हेटौंडा र काठमाडौंमा उपचार भइरहेको छ ।

यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १४ लादेस्थित सडकमा प्रदेश ००१ ख ०१६६ नम्बरको गाडी अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते ९ जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, सुरुङ्गा नगरपालिकामा मोटरसाइकलको ठक्करबाट साईकलयात्रीे ७० वर्षीय रामेश्वर चौधरीको मृत्यु भएको छ । कैलाली, टीकापुर नगरपालिका ५ पार्करोडस्थित सकडमा से ६ प १९३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर भएको दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक १८ वर्षीय सुन्दर मगर र मोटरसाइकल पछाडि बस्ने १८ वर्षीय केशव मगर छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा बा४८ प २२५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वर्ष २० का हरिचन पासवान र २१ का दिपलाल महरा छन । संखुवासभा, पोखरा र नेपालगञ्जमा भएको सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।