
काठमाडौं, असोज ३१ । वडा दशैंको समाप्तिसँगै बाग्मती र कर्णाली प्रदेश सरकार बदल्ने खेल तिव्र भएको छ ।
कर्णाली प्रदेशमा ढिलोमा कात्तिक दोस्रो सातामा सरकार फेरिने भएको छ भने बाग्मतिमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सत्ताच्यूत गरी नयाँ गठबन्धन सरकार बनाउन कात्तिक ४ गते प्रदेश सभाको बैठक बस्दैछ ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रदेशस्तरमै भएको सहमति अनुसार कर्णालीमा अहिलेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिई कांग्रेसका तर्फबाट जीवनबहादुर शाही मुख्यमन्त्री बनाउन बाटो खोलिदिनु हुनेछ । शाहीले कात्तिक ५ गतेदेखि १० गतेभित्रमा राजीनामा दिएर बैकल्पिक सरकार बनाउने बाटो खोलिदिने घोषणा गरिसक्नु भएको छ । कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर साहीले कात्तिक १० गतेसम्ममा आफ्नो नेतृत्वमा सरकार बन्ने बताइसक्नु भएको छ ।
यता एमाले विभाजनसँगै अल्पमतमा पर्नु भएकी वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक ४ गते विश्वासको मत लिने तय भएको छ । शाक्यले विश्वासको मत लिन प्रदेशसभा बैठकमा प्रस्ताव पेश गरिसक्नु भएको छ । समीकरण हेर्दा मुख्यमन्त्री शाक्यलाई विश्वासको मत लिन सहज छैन । १०९ सांसद रहेको प्रदेशसभामा शाक्यलाई आफ्नो पद जोगाउन ५५ सांसद चाहिन्छ ।
तर, उहाँको दल एमालेसँग ४३ सांसद मात्र छन् । एमाले बाहेकको गठबन्धनमा आवद्ध दलसँग ५८ मत रहेको छ । तर, बाग्मती प्रदेशमा कुन दलको नेतृत्वमा सरकार बनाउने भन्ने अनिश्चित छ । प्रदेश सभामा २२ सिट रहेको कांग्रेस वाग्मतीमा आफ्नो नेतृत्वमा सरकार बनाउन चाहन्छ ।
प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ कस्सीएर आफ्नो नेतृत्वमा सरकार बनाउने कसरतमा हुनुहुन्छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको निर्णय कुर्दा कांग्रेसको प्रदेश संसदीय दल अनिर्णित देखिएको छ । केन्द्रीय समीकरण अनुसार प्रदेशको नेतृत्व नेकपा एकिकृत समाजवादीले गर्ने भद्र सहमति भइसकेको छ ।
नेकपा एसबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्न कम्मर कसेर लाग्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्