
खिलनाथ ताजपुरीया
काठमाडौं, असोज ३१ । दशैंको बिदा सकिएको पहिलो दिन संघीय राजधानी काठमाडौं उपत्यकाका सरकारी कार्यालय खुला भए पनि सेवा लिन आउनेको संख्या नगण्य देखियो । अरु बेला सेवाग्राहीको चापले थेगिनसक्नु हुने कार्यालय आइतबार भने सुनसान जस्तै बनेका छन् । चाडपर्वमा दिने बिदा र खुल्ने समयको तारतम्य नमिल्दा सेवाग्राही र कार्यालय दुवै लाभान्वित बन्न सकेका छैनन् ।
दशैंको चटारोबीच खुलेका सेवाप्रदायक काठमाडौं उपत्यकाका सरकारी कार्यालयमा सेवाग्राहीको भिडभाड पातलो देखिन्छ । काठमाडौंको डिल्लीबजारस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा पनि कर्मचारीको तुलनामा सेवाग्रही कम देखिन्छन् । केही कर्मचारी आफ्नो कार्यकक्षमा छन् भने कोही कक्ष बाहिर । सेवाग्रहीको बाक्लो उपस्थिति नहुँदा कार्यालयका कर्मचारी भने सेवाग्राहीको पर्खाइमा बसेको देखिन्छ ।
यता, अरु कार्यालय भन्दा अलि बढि नै भिडभाड हुने एकान्तकुनास्थित यातायात कार्यालयसमेत सुनसान देखिन्छ । कोरोना कहरकै बीचमा समेत भिडभाडले मेला झै देखिने यो यातायात कार्यालयमा फाट्टफुट्ट मात्र सेवाग्राही देखिएका छन । सो कार्यालयमा केही कर्मचारी भने अझै पनि अनुपस्थिति छन् । फुलपातीसम्म दशै भएकाले पनि सेवाग्रहीको चाप नभएको कर्मचारीहरुको भनाइ छ ।
यस्तै, कलंकीस्थित मालपोत कार्यालयसमेत सेवाग्राहीको बाक्लो उपस्थिति देखिएन । सो कार्यालयमा केही कर्मचारी उपत्यकाबाहिर र कोही बिदामा रहेपनि सेवाग्राहीको काम नरोकिने तरिकाले व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी निलकण्ठ काफ्ले सेवाग्रहीको चाप नभएपनि आन्तरिक काममा कर्मचारीहरु व्यस्त रहेको बताउनुहुन्छ ।
दशै नहुँदो हो त यी सरकारी कार्यालय भीडले बजारजस्तै देखिने थिए । सेवाग्रहीका काम समयमै नभएको भन्दै गुनासा गर्नेहरुको पनि ताँती लाग्ने थियो । दशैंको बाहान अझैपनि चल्ने भएकाले केही दिन अझै उन्मुक्ति मिल्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्