
बर्दिया, कात्तिक २ । तीन दिन देखिको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीले खतरा तह पार गरेको छ ।
वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरा तह पार गरेको हो । बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले कर्णाली नदीमा पानीको सतह बढेर बाढीको जोखिम बढेको बताउनुभयो ।
नदी तटिय क्षेत्रका सनकट्टी, टीहुनी, दौलतपुर, तिघ्रा, राजापुरलगायतका स्थानमा जोखिम बढेको र सतकर्ता अपनाउन स्थानीयलाई आग्रह गरीएको छ । स्थानीयको उद्दारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
चिसापानीस्थित जलमापन केन्द्रकी गेज रिडर पार्वती गुरुङले मंगलबार बिहान कर्णाली नदीको चिसापानीमा पानीको बहाव ११.३० मिटर पुगेको बताउनुभयो । नदीमा पानीको बहाव १०.८० मिटर पुगेपछि खतरा मानिन्छ ।
चिसापानीमा पानी अझै बढीरहेकोले बाढी आउन सुरु गरेको उहाँको भनाई छ । बेमौसमी बर्षाका कारण हिउँद याम सुरु हुनै लाग्दा कात्तिक महिनामा कर्णाली नदीमा यसबर्षकै उच्च पानीको सतह बढेको हो ।
यता राजापुर नगरपालिका– १ दौलतपुरस्थित चनौरा, सोनाहागाउँ, दौलतपुर, सोनपुरलगायतमा बाढी गाउँ पस्न सुरु गरेको स्थानीय लोकराज ढुंगानाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्