७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बेमौसमी वर्षाले देशभरको जनजीवन अस्तव्यस्त, प्रधानमन्त्री भन्छन्–गृहमन्त्रीलाई निर्देशन दिएको छु

पाकेको धानबालीमा ठूलो क्षति हुँदा किसान मारमा

0
Shares

काठमाडौं, कात्तिक २ । बेमौसममा अनायास आएको वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । मुख्यगरी भित्र्याउन ठिक्क पारेको धानबालीमा देशैभर क्षति पुगेको छ ।

मुखमा आएको धानबालीमा वर्षाले असर गर्दा देशभरका किसान मारमा परेका छन् । लगातारको झरीले देशभरको मौसम प्रतिकूल बनेको छ । पहाडी भेगमा बाढी पहिरो आउँदा तराई क्षेत्र डुबानमा परेको छ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले भने सदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन दिएको जानकारी गराउनुभएको छ ।

आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले गृहमन्त्रीलाई उक्त निर्देशन दिएको जानकारी देशवासीलाई गराउनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन गरेको छु ।’

बंगालको खाडीमा उत्पन्न आँधीका कारण नेपालभर तीन दिनदेखि लगातार वर्षा हुँदा सुदूरपश्चिम लगायत देशका विभिन्न भागमा बाढी पहिरो आउँदा केही व्यक्तिको मृत्यु भएको छ भने धानबालीमा ठूलो असर परेको छ ।