
काठमाडौं, कात्तिक ३ । विश्वभरका बौद्ध धर्मावलम्बीहरुले ‘अभिधम्म दिवस’ मनाइरहेका छन् ।
विश्वभरी नै चैत्य तथा विहार र महाविहार, गुम्बाहरूमा अभिधम्म सुत्र पाठ गरी दीप प्रज्वलनसमेत गरिएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनी, काठमाडौंको स्वयम्भू महाचैत्य, चारुमति विहार, खास्ति, सिघ विहार लगायत ललितपुर र भक्तपुरका विहारहरुमा दिवस मनाइएको छ ।
तथागत भगवान गौतम बुद्धले आमा मायादेवीको गुणलाई स्मरण गरी तावंतिस देवलोकमा जानु भई तीन महिनासम्म आमा र हजारौं देव ब्रह्महरुलाई अभिधम्म ज्ञान दिनु भई धरती लोक सकास्यमा अवतरण गरेको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
बौद्ध धर्मको चित्त सम्बन्धी गम्भीर दर्शनको प्रमुख शिक्षा भगवान गौतम बुद्धले आमा मायादेवीलाई दिएको बौद्ध साहित्य र इतिहासमा उल्लेख छ । अभिधम्ममा शुद्ध धर्म स्वरुप परमार्थ तत्वहरुको वर्णन छ । जसमा चित्त, चेतसिक, रुप र निर्वाण चार परमार्थ तत्व छन् ।
अभिधम्ममा धम्मसंगिणी, विभंग, धातुकथा, पुग्गल पञ्ञत्ति, कथावत्थु, यमक र पट्ठाण गरी सात भाग रहेको छ । प्रज्ञप्त र परमार्थ तत्व राम्रो गरी छुट्याउन ज्ञान दिनको लागि अभिधम्म सुत्र पाठ गरिन्छ । काठमाडौं उपत्यकामा आश्विन शुक्ल पूर्णिमाको आजको दिनलाई कतिंपुन्हीको र सिघपुन्हीको रुपमा “अभिधम्म दिवश” मनाईन्छ ।
प्रतिक्रिया दिनुहोस्