
पर्वत, कात्तिक ४ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक स्थायित्व नभई मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ ।
पर्वतको चित्रेमा आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै तिमिल्सिनाले मुलुकको भविष्य निर्माण गर्नका लागि शुरुमा राजनीतिक स्थायित्व अपरिहार्य हुने बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले दलहरुबिचको अस्वस्थ प्रतिस्पर्धाका कारण मुलुकले सुखि नेपाली समृद्ध नेपालको लक्ष्य हासिल गर्न नसकेको बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले मुलुकमा गणतन्त्र आईसकेको अवस्थामा मुलुकको भविष्य निर्माणको मुख्य जिम्मेवारी यहाँका राजनीतिक दलहरुकै भएकाले अरुलाई दोष दिएरउम्कन नसकिने बताउनुभयो । एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्तिको अन्त्य गरी जुनसुकै दल सत्तामा पुगेपनि मुलुक निर्माणको साझा स्वार्थ हुनुपर्नेमा नेपालमा त्यो हुन नसकेको बताउनुभयो । उहाँले राजनीतिक दल, तीनै तहका सरकार र आम जनप्रतिनिधिहरुले मुलुकमा लगानीको वातारण बनाउनुपर्नेमा जोड दिँदै जवसम्म स्थायी शान्ति र राजनीतिक सन्तुलन कायम हुँदैन तबसम्म समृद्ध नेपालको नारा अधुरै रहने बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय पर्वत समाजमा आवद्ध प्रवासी नेपालीहरुले विदेशमा कमाएको पुँजी र सिकेको सिपलाई नेपालमा ल्याएर सदुपयोग गर्न सकेमा मात्र पर्वत र समग्र नेपालको विकासमा टेवा पुग्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्