
काभ्रे, कात्तिक ५ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धुलिखेल पुगेर जीप लाइन खेलको अनुभव लिनुभएको छ ।
पारिवारिक भ्रमणका क्रममा नाति नातिनीसहित धुलिखेल पुग्नुभएका उहाँ आफैंले क्लासिक जीप लाइनको अनुभव लिनुभएको हो । साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै दाहालले आफूले जीपलाइनको मज्जा लिएको बताउनुभयो ।
पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको उहाँको भनाइ छ । बेमौसमी वर्षाबाट सृजित बाढी–पहिरोका कारण देशभरका कृषक मारमा रहेका बेला गठबन्धन दलका मूलनेता दाहाल भने जीप सयरमा लाग्नुभएको हो ।
टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्याण्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दूरी ११ सय मिटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमिटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ ।
काठमाडौंबाट करिव ३५ किलोमीटर दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रुपमा थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्