
काठमाडौं, कात्तिक ५ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो ।
‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ मुल नारा तय गरी हुन लागेको सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जिविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमुलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरु गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको सम्बन्धमा नेपालले प्राप्त गरेका अनुभव र सिकाइहरु अन्तर्राष्ट्रिय समुदायलाई बाँढ्ने र आगामी दिनमा नेपाललार्य विपतबाट बचाउनकालागि नेपालको मार्गचित्र के हो भन्ने विषय प्रस्तुत गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
२०७२ साल पुस १० गते स्थापना भएको प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनाका महत्वपूर्ण कामहरु सम्पन्न गरी सरकारको निर्णयअनुसार बाँकी रहेका कार्यहरु सम्बन्धित निकायहरुलाई हस्तान्तरण गरिसकेको छ ।
विनाशकारी भूकम्प गएको दुई महिनापछि २०७२ साल असार १० गते काठमाडौंमा पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँको वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो ।
राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउँदा पुनर्निर्माणका लागि वास्तविक प्रतिबद्धता रकम ३ खर्ब २१ अर्ब रुपैयाँ थियो । त्यसमध्ये ३ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सम्झौता भएको छ, जुन कुल वास्तविक प्रतिबद्धता रकमको ९७.५ प्रतिशत हो । विपद्को समयमा हुने अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता अनुरुप नेपालले प्राप्त गरेको उक्त सहयोग अन्य मुलुकको तुलनामा उल्लेखनीय रहेको दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्