
काठमाडौं, कात्तिक ५ । गत आइतबारदेखिको बेमौसमी वर्षाले तीन वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक अनुमानित विवरणअनुसार ती प्रदेशहरुमा ६७ हजार ९ सय १९ हेक्टर क्षेत्रफलमा लगाइएको झण्डै २ लाख ५८ हजार ९२ मेट्रिकटन धान बर्षातका कारण क्षति भएको अनुमान गरिएको छ ।
एक लाख ९८ हजार ५ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानलाई भने असर मात्रै पुर्याएकाे मन्त्रालयले जनाएको छ । अनुमानित विवरणअनुसार लुम्बिनी प्रदेशका चार जिल्लामा वर्षातको असर धेरै छ । प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देही धेरै प्रभावित हुने जिल्लाहरु हुन् ।
यो प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर ४ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै मूल्यको एक लाख ६१ हजार २२३ मेट्रिकटन धानमा वर्षाले क्षति पुर्याएकाे छ । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर दुई जिल्लाका किसानले लगाएको धानमा वर्षातले धेरै असर पुर्याएकाे मन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ ।
प्रदेशभर ५५ हजार हेक्टर क्षेत्रफलको धानमा असर पुगे पनि क्षति भने १८ हजार हेक्टरमा मात्रै छ । एक अर्ब ९१ करोड ५ लाख २० हजार रुपैयाँ बराबरको ६८ हजार ४ सय रुपैयाँ मेट्रिक धानमा सुदूरपश्चिम प्रदेशमा असर देखिएको छ ।
यस्तै प्रदेश १ को झापा, सुनसरी र मोरङमा वर्षातको असर धेरै छ । यहाँ ८० करोड रुपैयाँ बराबरको २८ हजार ४ सय ६९ मेट्रिकटन पाकेको धानमा क्षति पुगेको छ । वर्षाका कारण सातै प्रदेशमा असर पुगेको र सबै प्रदेशबाट तथ्यांक नआइसकेकाले प्रभावित क्षेत्र र क्षतिको विवरण अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्