
अपडेट
काठमाडौं, पुस २२ । अमेरिकाले गरेको आक्रमणमा मारिएका इरानका वरिष्ठ सैन्य जनरल कासिम सुलेमानीको शवयात्रामा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
केर्मानमा भएको घटनामा २०० भन्दा बढी घाइते भएका छन् ।
सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा लाखौं मानिस भेला भएका थिए ।
सडकमा जम्मा भएका शोकाकुल मानिसहरूले सुलेमानीको तस्वीर र रातो झन्डा बोकेका थिए । शिया परम्पराअनुसार रातो झन्डाले प्रतिशोधको संकेत गर्छ ।
इराकको राजधानी बग्दादमा अमेरिकी मानवरहित विमान आक्रमणमा सुलेमानी मारिएका थिए ।
इरानले कडा बदला लिने चेतावनी दिएको छ ।
अमेरिकामाथि फेरि आक्रमण गरे इरानका ५२ स्थानमा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् ।
इरानको विशिष्ट सैन्य बल कूड्स फोर्सका प्रमुख सुलेमानीलाई त्यहाँका सर्वोच्च नेता आयतूला अली खोमनीपछि दोस्रो शक्तिशाली नेता मानिन्थ्यो । उनको हत्यालाई लिएर अमेरिका र इरानबीच युद्धको त्रास बढेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्