२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रधानमन्त्री कर्णाली नपुगेकोमा सांसद आक्रोशीत


0
Shares

काठमाडौं, कात्तिक ७ । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकोमा आपत्ति जनाउनु भएको छ ।

हुम्लाका सांसद महतले आफूले आग्रह गर्दा पनि प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मा सुदूरपश्चिम प्रदेश पुगेर पनि नजिकैको कर्णाली प्रदेश नपुगेकोमा आक्रोश समेत व्यक्त गर्नु भयो । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको आजको बैठकमा उहाँले कर्णाली प्रदेशका पनि मान्छे हुन् भन्ने कुराको हेक्का राख्न प्रधानमन्त्री देउवालाई चेतावनी समेत दिनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले बाढिपहिरोबाट अवरुद्ध सडक तत्काल सूचालु गराउन सरकारसँग माग गर्नुभयो । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले ८/१० दिन भित्र बाढिपहिरोले अवरुद्ध सबै सडक सूचालु गराउने प्रतिवद्धता जनाउनुभयो । मन्त्री यादवले जनशक्ति र स्रोत, साधनको अभावमा सरकारले अवरुद्ध सडक खुलाउनका लागि सोचे जस्तो प्रभावकारी काम गर्न नसकेको यथार्थता बुझि दिन समिति समक्ष आग्रह गर्नु पनि भयो ।

मन्त्री यादवले अवरुद्ध सडक खुलाउनका लागि छुट्टै संयन्त्रको आवश्यकता पनि औंल्याउनुभयोे । स्थानीय, प्रदेश र संघीय सरकारले आ–आफ्नो दायित्वको सडक निर्माणमा ढिलाई गर्न नहुने पनि उहाँले बताउनुभयो ।