
अक्कल कुँवर
काठमाडौं, कात्तिक ७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन चौथो पटक सारिएको मितिमा पनि नहुने निश्चित भएको छ । वडा, पालिका र हिमाली जिल्लाका अधिवेशन कार्यतालिका प्रभावित भएसंगै पछिल्लो पटक तोकिएको मितिमा पनि केन्द्रीय महाधिवेशन नहुने भएको हो । दशैँपछि महाधिवेशन केन्द्रीत गतिविधि रोकिएका छन् । शीर्ष नेताहरुबीच महाधिवेशनको मिति सार्न अनौपचारिक छलफल सुरु भएको छ । एमालेले विना होहल्ला एकैदिन हजारौं वडा पदाधिकारी चयन गरेको अवस्थामा कांग्रेसमाथि नैतिक दबाव परेको छ ।
भदौ १८ गतेदेखि महाधिवेश प्रक्रिया सुरु भएपनि अहिलेसम्म १३ जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन् । ६४ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भईसके पनि अझै ३ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान हुन सकेको छैन् । दशैअघि हिमाली २१ जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने कार्यतालिका भएपनि १३ जिल्लाको मात्र अधिवेशन सम्भव भयो । तय गरेको कार्यतालिका अनुसार अधिवेशन हुन नसकेकाले अब तोकिएको मितिमा केन्द्रीय महाधिवेशन हुने सम्भावना सकिएको निर्वाचन समितिको भनाई छ । रोकिएको महाधिवेशन प्रक्रिया छठपछि मात्रै सुरु गर्ने तयारीसँगै निर्धारित मितिमा केन्द्रीय महाधिवेशन नहुने निश्चित भएको छ ।
रोकिएको अधिवेशन प्रक्रिया छठलगत्तै सुरु गरेपनि अव मंसिर ९ देखि १३ गतेसम्म तोकिएको मितिमा केन्द्रीय महाधिवेशन गर्न समय नै पुग्दैन । निर्धारित मितिमा महाधिवेशन सम्भव नहुने देखेका शीर्ष नेताहरुले महाधिवेशनको मिति सार्ने कसरत सुरु गरेका छन् । आगामी केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति सार्ने तयारी छ । वडा अधिवेशन हुन बाँकी १३ जिल्लाको वडा र पालिका अधिवेशनको परिमार्जित कार्यतालिका निकाल्ने निर्वाचन समितिको योजना छ । त्यसपछि एकैपटक बाँकी रहेका जिल्लाको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला अधिवेशनको कार्यतालिका निकाल्ने र जिल्ला अधिवेशनपछि ७ वटै प्रदेशको अधिवेशन गर्ने तयारी छ ।
कांग्रेसले पहिलो पटक २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, कोरोना महामारी, क्रियाशील सदस्यता विवाद र दल समायोजन प्रक्रियालाई कारण देखाएर भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्नेगरी महाधिवेशन सार्ने निर्णय गरेको थियो । तर, कोरोना महामारी र क्रियाशील सदस्यताको विवादलाई कारण देखाएर भदौ १६ देखि १९ गतेसम्म गर्नेगरी मिति सारेको थियो । उक्त मितिमा पनि महाधिवेशन हुन सकेन । क्रियाशील सदस्यता विवाद चर्किएपछि गत साउन ३० गते बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन मंसिरमा सार्ने निर्णय ग¥यो । तर, चौथो पटक तय गरिएको मितिमा पनि महाधिवेशन हुने सम्भावना सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्