
काठमाडौं, कात्तिक १० । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउन राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ ।
बुधबार विज्ञप्तिमार्फत् नागरिक आन्दोलनले न्यायालयमा देखिएको वर्तमान संकट निदानका लागि बार एसोसियसन, पूर्व प्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ताहरु र न्यायाधीश समाजको आह्वानसमेतलाई समर्थन गर्दै प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउन ध्यानाकर्षण गराएको हो ।
नागरिक आन्दोलनले न्यायपालिकामा व्यापक सुधारका साथै यसलाई जनताको न्यायिक आस्थाको केन्द्र बनाउनेतर्फ सम्बद्ध सबै पक्षहरूसँग आह्वा गरेको छ । ‘न्यायपालिका न्याय सम्पादन गर्ने निकायमात्र नभई शक्ति पृथकीकरणको जगमा राज्य व्यवस्थालाई जवाफदेही बनाउने माध्यमसमेत हो ।
उच्च नैतिक चरित्र, मर्यादा र आचारसंहिताको बलमा जनताको अन्तिम आड भरोसाका रूपमा रहनुपर्ने न्यायालयका तीनै आधारभूत चरित्रप्रति आज सर्वत्र सन्देह छाएको छ,’ आन्दोलनको विज्ञप्तिमा उल्लेख छ ।
नागरिक आन्दोलनले अदालतभित्र भ्रष्टाचार हटाउन दिएका विधि र उपायहरूको सुझाव प्रधानन्यायाधीशले अस्वीकार गर्नुले अवस्थाको गम्भीरता दर्शाएको बताएको छ ।
प्रतिनिधिसभा असमयमै र संविधानविपरीत विघटनको घोषणा गर्ने पूर्ववर्ती सरकारका अध्यादेशलगायत बलजफ्ती व्यवहारका मतियार बनेका प्रधानन्यायाधीश जबराले संवैधानिक अंगहरूमा भागबन्डा गरेको घटनाले न्यायपालिकाको मर्यादा गिरेको विज्ञप्तिमा दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्