
धनगढी, कात्तिक ११ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलको न्यायालय विवादको जड केपी ओली भएको आरोप लगाउनुभएको छ ।
कैलालीको धनगढीमा पत्रकारहरुसँग अध्यक्ष नेपालले न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न नदिएर ओलीले अझै रीस साँधिरहेको आरोप पनि लगाउनुभयो । संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको पनि उहाँले प्रष्ट गर्नुभयो ।
सबै कुरा ओलीले बिगारेको भन्दै उहाँले भन्नुभयो, ‘यो सबै कुरा केपी ओलीले बिगारेको हो । उहाँले स्वतन्त्र न्यायपालिकालाई अनावश्यक लान्छाना लगाउने काम गर्दै आउनुभएको छ, त्यो उहाँको अत्यत्नै अनुचित, हस्तक्षेपकारी र देशको सबै प्रणलीलाई भत्काउने प्रवृत्तिको उपज हो ।’
परमादेश जारी गर्ने सबै न्यायाधीशले राजीमाना गर्नुपर्छ भन्ने ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेता नेपालले, ओलीको स्वभाव असहिष्णु, अलोकतान्त्रिक र जवजविरोधी भएको आरोप पनि लगाउनुभयो ।
गठबन्धन दलहरुभित्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा वा अरु न्यायाधीशका बारेमा कुनै छलफल नभएको पनि उहाँले प्रष्ट गर्नुभयो ।
प्रदेशमा जुन दल ठूलो छ उसैले नेतृत्व गर्ने गरी सहमति गरिएको जानकारी दिँदे उहाँले सुदूरपश्चिममा पनि सबैभन्दा ठूलो दल जो छ उसैको नेतृत्वमा सरकार बन्ने बताउनुभयो । अर्ली इलेक्सन सम्भव नभएको र आउँदो निर्वाचनसम्म गठबन्धनबीच सहकार्य गरिने उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्