२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गुण्डुका किसानलाई मखमली र सयपत्री फूल टिप्न चटारो, स्वदेशदेखि विदेशसम्म बिक्री


39
Shares

पलिस्था रञ्जितकार
भक्तपुर, कात्तिक ११ । तिहार आउँदै गर्दा भक्तपुरको गुण्डुमा किसानलाई मखमली र सयपत्री फूल बेच्ने चटारो छ । लगभग घरैपिच्छे फूलखेती गरेका गुण्डुका किसानले उपत्यकाको फूलको ठूलो माग धान्ने गर्दछन् ।

तिहार नजिकै आउँदै गर्दा भक्तपुरको गुण्डुमा किसानहरुले आफुले बारीमा लगाएको मखमली र सयपत्री फूल बेच्न थालेका छन् । तिहारमा फूलको मागलाई पुर्ति गर्ने प्रमुख ठाउँहरुमध्ये गुण्डु पनि एक हो । देशभरि कृषि गर्ने जनशक्तिको कमी महसुस भइरहेको बेला भक्तपुरको गुण्डमा भने लगभग घरैपिच्छे फूलखेती गरेको पाइन्छ ।

खेतीका लागि पुरानादेखि नयाँपुस्ता समेत सरिक भएर लागेको देखिन्छ । तिहारको रमझमसँगै भक्तपुरको सुर्यविनायक नगरपालिकामा रहेको गुण्डु झलमल भएको छ । करिब सोह् वर्षदेखि फूल रोपेर पेशागत रुपमा बेच्दै आएकी मेनुका बस्नेतले साउनदेखि नै फूल रोप्ने काम सुरु हुने बताउँछिन् । व्यापारीहरु घरघरै फूल लिन आउने भएकाले पहिलेको तुलनामा अहिले व्यापार गर्न निकै सहज भएको उनको भनाइ छ ।

प्रतिमाला बीसदेखि २५ रुपैँयासम्म पर्ने मखमली फूल स्वदेशमा मात्र नभई विदेशसम्म पनि निर्यात हुने गरेको स्थानीय किसानहरु बताउँछन् । फूलखेतीकै सन्दर्भमा कक्षा ११ मा विज्ञान विषय अध्ययन गरिरहेकी बिनु बस्नेत आफु घरका परिवारसँगै फूल रोप्ने र बेच्ने काममा सरिक रहेको बताउँछिन् । फूलमा हालिने किटनाशकले स्वास्थ्य समस्या निम्त्याएर ज्यान पनि जान सक्ने जोखिम रहेको उनी बताउँछिन् ।

आआफ्ना तहबाट भएको जग्गामा धेरै थोरै जति सकिन्छ फूल लगायत अन्य बाली लगाएर मिहेनत गर्न जाँगरिला गुण्डुका किसानको लगनले यस ठाउँको सौन्दर्य र आर्थिक क्रियाकलाप दुबैलाई प्रश्रय दिएको छ । साँच्चै नै गुण्डु छिर्ने बित्तिक्कै तिहार आएको आभास हुन्छ ।