
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अबको ६ महिना अर्थात् चैत्र मसान्तभित्र सबै नेपालीलाई निःशुल्क रूपमा कोभिड–१९ विरुद्धको खोप पुर्याउन अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बिहीबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताहरूसँग मागेर या किनेरै भए पनि यो वर्षको अन्त्यसम्म सबै नेपालीलाई निःशुल्क खोप लगाउन निर्देशन दिनुभएको हो ।
यसै वर्षभित्र सबै नागरिकलाई निःशुल्क खोप वितरण गरिसक्ने सरकारी लक्ष्य पूरा गर्न विभिन्न देशबाट निःशुल्क या खरिद गरेरै भए पनि खोप ल्याउनेतर्फ लाग्न अधिकारीहरुलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिनुभएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने थप आउन लागेको खोपबारेमा जानकारी दिएको थियो । असअनुसार चीनबाट थप ४० लाख भेरोसेल खोप तथा अरू देशबाट थप ४० लाख मोर्डना र ४७ लाख फाइजर खोप आउने क्रममा रहेको छ । माल्दिभसबाट पनि दुई लाख डोज कोभिडविरुद्धको खोप ल्याउने तयारी भइरहेको छ ।
असोज मसान्तसम्म एकतिहाइ र चैत मसान्तभित्र सबै नेपालीलाई खोपको पूर्ण मात्रा लगाउने लक्ष्य सरकारको छ । बैठकले केन्द्रको जनशक्ति व्यवस्था र संगठन संरचना पनि स्वीकृत गरेको छ ।
अघिल्लो सरकारले अध्यादेशबाट गठन गरेको कोभिड– १९ संकट व्यवस्थापन (सीसिएमसी) केन्द्र अधयादेशसँगै निष्क्रिय भएपछि वर्तमान सरकारले गठन आदेश मार्फत् कोभिड –१९ संकट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो ।
हालसम्म कुल जनसंख्याको २२ प्रतिशतले दुबै तथा ३४ प्रतिशतले पहिलो खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्