२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


तीनै तहको निर्वाचन एकै पटक गर्न माधव नेपालको प्रस्ताव, प्रधानन्यायाधीशलाई महाभियोगबारे छलफल नै भएको छैन


0
Shares

पोखरा, कात्तिक १२ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले तीनै तहको निर्वाचन एकै पटक गर्ने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव गर्नुभएको छ ।

पोखरामा पत्रकारहरुसँग नेपालले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार ब्यहोर्नुपरेको भन्दै तीनै तहको चुनाव एकै पटक गर्नुपर्ने बताउनुभएको हो ।

सबै चुनाव एकैपटक गर्न पाए खर्च पनि कम हुने र राष्ट्रको सम्पत्ति पनि जोगिने भन्दै उहाँले थप्नुभयो, ‘एउटा प्रदेशको काम एकैचोटि सम्पन्न गर्ने, अर्को प्रदेशको एकैचोटि सम्पन्न गर्ने । राष्ट्रको सम्पत्ति पनि धेरै जोगिन्थ्यो होला । कानुनी हिसाबमा केके अड्चन आउँछन्, थाहा छैन । तर, मेरो दिमागमा त्यो कुरा आइराखेको छ ।’

स्थानीय तहको चुनाव आगामी चैतमा गर्न प्रधानमन्त्री देउवाले प्रस्ताव गरेका सन्दर्भमा यसबारे सोचिनसकेको पनि बताउनुभयो । अहिलेको गठबन्धन चुनावसम्मै जाने र एमालेलाई ‘टर्च बालेर’ खोज्ने स्थितिमा पुर्‍याइने दाबी पनि उहाँले गर्नुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रकरणमा आफूले धेरै अध्ययन नगरेको भन्दै उहाँले विवादमा ल्याउने कामचाहिँ एमाले अध्यक्ष केपी ओलीले नै गरेको आरोप लगाउनुभयो ।

कसैको मानसम्मान नगर्ने ओलीले नै सबै सिस्टम भत्काउँदै हिँडेको र न्यायिक क्षेत्रमा पनि समस्या देखिएको उहाँको भनाइ थियो ।

प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउनेबारे गठबन्धनमा कुरा नै नभएको भन्दै यो फगत हल्ला मात्र भएको टिप्पणी गर्नुभयो ।