
कैलाली, कात्तिक १२ । कैलालीको टीकापुर नगरपालिका–८ मा बाढीले हुलाकी सडक कटान गरेको छ ।
हुलाकी सडक बगरमा परिणत भएपछि सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । दुई हप्ता अघि अविरल वर्षासँगै कर्णाली नदीको बाढी उर्लिएर आउँदा बर्दियाको राजापुर जोड्ने हुलाकी सडक बगाएर सिङ्गै वडा नम्बर–८ को सत्ती र वनगाउँलाई वारिपारि बनाइदिएको छ ।
कालोपत्रे गरिएको सत्ती सडको तीन सय मिटर खण्ड पूर्ण रुपले क्षतिग्रस्त भएको छ । डेढ सय मिटरमा आधा सडक नदीले कटान गरिदिएको छ । वन गाउँकी स्थानीय सीता टमटाले बाढीले हुलाकी सडक भत्काएपछि एउटै रहेको वडा वारिपारि हुँदा आवतजावतमा समस्या भइरहेको गुनासो गर्नुभयो ।
कर्णाली नदीको प्राकृतिक बहाव थुनिँदा ठूलो क्षति व्यहोर्नुपरेको स्थानीय कृष्णगोपाल चौधरीको भनाई छ । पानी वनगाउँ हुँदै कर्णाली नदीमा मिसिने गरेकोमा यस वर्ष कुलोले नदीको पानी थेग्न नसक्दा र साइपुरमा बाँध फुटेकाले बाढी हुलाकी सडक हुँदै बस्तीमा पसेर क्षति पु¥याएको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताउनुभयो ।
हुलाकी सडक कटान गरेर बस्तीमा पसेको बाढीले टीकापुरका सयौं बिगाहा क्षेत्रफलमा लगाएको धानबाली समेत बगेर नष्ट भएको छ भने कयौं घर डुबानमा परेका थिए ।
प्रतिक्रिया दिनुहोस्