१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जनगणनाको तयारी अन्तिम चरणमा


0
Shares

काठमाडौं, कात्तिक १४ । राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार जनगणनामा घरघर खटिने गणकका लागि अन्तिम चरणको तालिम सुरु भएको हो ।

७७ वटै जिल्लाका ३४९ वटा जनगणना कार्यालयले गणकका लागि अन्तिम चरणको तालिम शुरु गरेको विभागले जनाएको छ ।

देशभर जनगणना कात्तिक २५ बाट शुरु हुनेछ । जनगणनाको काम मंसिर ९ गते पूरा हुनेछ । ३९ हजार गणक देशैभर खटिन विभागले जनाएको छ । गणकका लागि तालिम १३ कात्तिकबाट १६ कात्तिकसम्म चल्नेछ । ट्याब प्रयोग हुने काठमाडौंमा भने १७ गतेसम्म गणकको तालिम चल्ने विभागले जानकारी गराएको छ ।

तालिममा जनगणना क्षेत्रको पहिचान, सही तथ्यांक ल्याउन गणकले अपनाउनु पर्ने सावधानी, उत्तरदातासँग गर्नुपर्ने व्यवहार, तथ्यांकको गोपनीयता कायम राख्ने विषयमा जानकारी गराइने भएको छ । गणकको सानो गल्तीले तथ्यांकको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने भन्दै गणक बढी नै गम्भीर हुनुपर्ने भन्दै तालिम सञ्चालन शुरु गरिएको हो ।

गणकले स्थलगत काममा गल्ती नगरुन् भने कक्षागत रुपमा अभ्यास समेत गराइने भएको छ । विभागका अनुसार गणकलाई तालिम दिन कलेजका शिक्षक, माध्यमिक तहका शिक्षक, सरकारी निकायका अधिकृत स्तरका कर्मचारी र स्नातकोत्तर तह उत्तीर्ण गरेका सुपरीवेक्षक समेत गरी १५ सय जना प्रशिक्षक खटिएका छन् ।

केन्द्रीय तथ्यांक विभाग तथा मन्त्रालयका अधिकृत, यूएनएफपीय र केन्द्रीय विभाग जनसंख्याशास्त्रका जनसंख्याविद् गरी करिब एक सय जना देशभर सञ्चालन हुने गणक तालिमको अनुगमन तथा अवलोकनमा खटिएको समेत विभागले जनाएको छ ।