
लुम्बिनी, कात्तिक १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्ध नेपालमै जन्मिनु नेपाल र नेपालीका लागि गौरव विषय भएको उल्लेख गर्नुभएको छ ।
गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकतासहितको बज्रयान विहार उदघाटन गर्दै राष्ट्रपति भण्डारीले बुद्धले लामो तपस्याबाट आर्जित ज्ञानमार्फत् विश्व समुदायलाई अमूल्य विचार दिएको पनि बताउनुभयो ।
बुद्ध दर्शनको मर्म र भावनाअनुसार चल्न आह्वान गर्दै राष्ट्रपति भण्डारीले त्यस्तो गर्नसक्दा देशको विकास हुने उहाँको विश्लेषण थियो ।
गुरुयोजना बनेर पनि लुम्बिनीको विकास रोकिएकोप्रति प्रश्न गर्दै भण्डारीले जे कारण भए पनि समाधान गरिनुपर्ने बताउनुभयो ।
यसैगरी, राष्ट्रपति भण्डारीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मारमा बनेको ‘महाकरुणा बुद्धमूर्ति’ पनि अनावरण गर्नुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको आर्थिक सहयोगमा विहार बन्दा खुशी लागेको भन्दै काठमाडौं महानगरजस्तै संघीय र प्रदेश सरकारले पनि नेपालका मौलिकता झल्किने कार्यमा सहयोग गर्ने अपेक्षा रहेको बताउनुभयो ।
परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डाक्टर नरेशमान बज्राचार्यले नेपालमा यस्तो कलाकृतिको विहार ३७२ वर्षपछि बनिरहेको जानकारी दिनुभयो ।
नेपाल परम्परागत बौद्धधर्म संघका उपाध्यक्ष माणिकरत्न शाक्यले विहार बनाउन अहिलेसम्म करिब १६ करोड खर्च भएको भन्दै २० करोडको लगानीमा सम्पन्न हुने जानकारी दिनुभयो ।
विमानस्थलमा अनावरण गरिएको ‘महाकरुणा बुद्धमूर्ति’ को मूल्य साढे २ अर्ब तथा तौल एक हजार आठ सय किलो र उचाइ १.९ मिटर र चौडाइ ६० सेन्टिमिटर रहेको छ । उक्त मूर्ति बहुमुल्य धातु ‘ह्वाइट जेड’बाट बनेको हो ।
प्रतिक्रिया दिनुहोस्