१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जनकपुरमा मेयरको घरअगाडि फोहोर फालेर जनप्रतिनिधिले गरे विरोध, मेयरलाई कालोमोसो दल्ने चेतावनी


0
Shares

काठमाडौं, कात्तिक १४ । जनकपुरका स्थानीय जनप्रतिनिधिले मेयरको घरअगाडि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन् ।

चाडपर्वमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाई गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिशोर साहको घरअगाडि स्थानीय जनप्रतिनिधिले फोहोर फालेर बिरोध गरेका हुन् । उनीहरुले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनको लागि आग्रह गर्दासमेत कुनै चासो नदिएको आरोप लगाएका छन् ।

दिपावली नजिकिँदा समेत फोहोर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडा अध्यक्षहरुले नगरप्रमुख साहलाई कालोमोसो दल्ने चेतावनी समेत दिएका छन् ।

प्रहरीले नगरप्रमुख साहको घर अगाडी फोहोर फाल्न नदिएपछि उनीहरुले उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर धर्नामा बसेका थिए ।

वडाध्यक्षहरुले फोहोर व्यवस्थापनका लागि चासो नदेखाएको, आफूहरुलाई ट्याक्टरसमेत उपलब्ध नगराएको र जनताप्रति बेवास्ता गरेको र आफू भ्रष्टाचारमा मात्र केन्द्रित बनेको आरोप लगाएका छन् ।

जनकपुरधाम उपमहानगर भित्रका विभिन्न वडामा थुपारिएको फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै नगरप्रमुख साहप्रति जनप्रतिनिधिहरु पनि आक्रोशित बनेका छन् ।