
काठमाडौं, कात्तिक १४ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ ।
चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माण भइरहेको सो आयोजना २०७९ पुसभित्र सक्ने लक्ष्य राखीएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण वर्षायाम सुरु हुनुअघि नैसक्ने लक्ष्य राखिएको छ ।
विद्युतगृह भवन निर्माण आगामी पुसभित्र र ७ दशमलव २ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४१५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको महाभूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गत वर्षको असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरोको र कोरोना महामारीले आयोजना प्रभावित भएको थियो ।
प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यासम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाको प्रवद्र्धक मध्य भोटेकोसी जलविद्युत कम्पनीका अध्यक्ष हरराज न्यौपाने तथा सञ्चालकहरुसहितको टोलीले शनिबार निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ ।
टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदातासँग छलफल गरी २०७९को पुसभित्र कुनै पनि अवस्थामा निर्माण सम्पन्न हुने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्