
काठमाडौं, कात्तिक १५ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आफैविरुद्ध आन्दोलित न्यायाधीशरुलाई आज पनि मुद्दाको पेशी तोक्नुभएको छ । यसका लागि ६ वटा इजलाश तोकिएका छन् ।
अरु दिनभन्दा फरक आजचाहिँ बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाईका लागि न्यायाधीहरुको बेञ्च तोकिएको छ । अरु मुद्दा स्थगित गरिएका छन् । राणाले भने आफूलाई इजलाश तोक्नुभएको छैन ।
आइतबार असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग वार्ताका लागि तीन सदस्यीय टोली बनाएपछि सोमबारका लागि भने बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्र पेशी तोकिएको हो ।
न्यायालयमा देखिएको विवाद समाधानका लागि राणाले निकास दिनुपर्ने पक्षमा रहेका सर्वोच्च अदालतका बाँकी सबै न्यायाधीशहरूको बैठकले आइतबार सपना मल्ल प्रधान, अनिल सिन्हा र मनोज शर्मा सम्मिलित वार्ता टोली गठन गरेको थियो ।
प्रधानन्यायाधीशको बहिर्गमनको माग गर्दै न्यायाधीहरुले राणाले तोकेका इजलाश बहिष्कार गर्दा सर्वसाधारणको मुद्दा सुनुवाई नै रोकिएको छ । अरु न्यायाधीशले इजलाश नै बहिष्कार गरेपछि प्रधानन्यायाधीश राणाले आफ्नो इजलाशमा मुद्दा सुनुवाई गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्