२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


पार्टीमा पुस्तान्तरणभन्दा रुपान्तरण आवश्यक छ: कांग्रेस नेता पौडेल

अदालतमा देखिएको समस्याको समाधान तत्काल खोजियाेस्

0
Shares

जनकपुरधाम, कात्तिक १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा पुस्तान्तरणभन्दा रुपान्तरण आवश्यक रहेको औल्याउनुभएको छ ।

धनुषाको जनकपुरधाममा सोमबार विहान पत्रकारहरुसँग नेता पौडेलले भन्नुभयो, ‘पार्टीमा अहिलेको आवश्यकता पुस्तान्तरणभन्दा पनि रुपान्तरणको छ ।’

प्रतिपक्षीको हाँक सामना गर्नसक्ने नेतृत्व आज पार्टीलाई चाहिएको भन्दै उहाँले थप्नुभयो, ‘रुपान्तरणका लागि कार्यक्रम, योजना, सोच, विचार, कसले राम्रो ल्याउँछ र, कसले यो राष्ट्र हाँक्न सक्छ कसले प्रतिपक्षीको सामना गर्न सक्छ त्यस्तो नेतृत्व चाहिएको छ ।’

युवा, महिला, मधेशी, पहाडी, जनजातिका रुपमा विभाजित भएर नभई राष्ट्र हाँक्न सक्ने व्यक्ति आवश्यक परेको पौडेलको भनाइ थियो ।

भागबण्डामा पार्टी सभापति बनाउने कुरा हुन नसक्ने र यसको निर्णय कार्यकर्ताले गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘पार्टी सभापति टीका लगाएर दिने कुरा होइन । मधेशी नै बने फरक पर्दैन । तर यो कुरा कार्यकर्तामा छाडिदिनुपर्छ ।’

वर्तमान नेतृत्वका कारण पार्टी अस्तव्यस्त रहेको भन्दै उहाँले कांग्रेस व्यवस्थित भए लोकतन्त्र पनि व्यवस्थित हुने पनि बताउनुभयो ।

उहाँले अदालतमा देखिएको समस्याको समाधान तत्काल खोजिनुपर्ने पनि बताउनुभयो ।