
काठमाडौं, कात्तिक १५ । नेपाल राष्ट्र बैंकले आयातित बस्तुमा ५० प्रतिशतभन्दा बढी कर्जा प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको जनाएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाम्रो आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दापनि बढि मात्रामा आयातित बस्तुमा ऋण प्रवाह हुँदा सो समस्या देखिएको प्रष्टयाउनु भएको हो ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले कोभिडका कारण रेमिट्यान्स घट्नु, लोन प्रवाहको समय थप गर्नु, सरकार परिवर्तनसँगै बजेट पुनर्विचार हुँदा पनि त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रको तरलतामा देखिएको बताउनुभयो ।
गभर्नर अधिकारीले उत्पादनमूलक क्षेत्रमा लोन प्रवाह गर्न पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउनु भयो । उहाँले सस्तो ब्याजदरमा लोन दिने कामले पनि बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिने अवस्था आएको पनि बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभावका कारण ४५ लाख लगानीकर्ता प्रभावित भएको बताउनु भयो । उहाँले ब्याजदर बढ्नुले साना उद्यमी, व्यवसायीहरुको पुनर्उत्थान तत्काल गर्न सकिने अवस्था नरहेको गुनासो समेत गर्नुभयो ।
२०७६ चैत्र देखि कात्तिकसम्म कर्जाको माग खासै नभएपनि त्यसपछि माग ह्वात्तै बढ्दा बैकिङ क्षेत्रमा तरलताको अवस्था आएको हो । २०७६ साल चैत्रदेखि हालसम्म १२ खर्व ३ अर्ब रुपैयाँ कर्जा जारी भएको छ । तर सोही अनुपातमा निक्षेप संकलन नुहँदा समस्या आएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्