३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


आयल निगमको अवस्था थप जर्जर बन्दै


13
Shares

काठमाडौं, कात्तिक १५ । नेपाल आयल निगमको अवस्था थप जर्जर बन्दै गएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिकै कारण नेपाल आयल निगमले हरेक १५ दिनमा १ अर्ब बढी गुमाइरहेको जनाएको छ ।

वित्तीय रुपमा धराशायी बन्दै गएको निगमले यसै आधारमा आगामी कात्तिक ३० गतेसम्ममा ११ अर्ब ५५ करोड गुमाउने प्रक्षेपण गरेको छ । गत साउनमा ३ अर्ब ४६ करोड गुमाएको निगमले भदौंमा ७ अर्ब ४१ करोड घाटा व्यहोरेको जनाएको छ ।

यस्तै असोजमा पनि ७ अर्ब बढी गुमाउन पुगेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६÷७७ सम्म वार्षिक १२ अर्ब बढी नाफामा रहेको निगमको घाटा बढ्दै गएको हो । निगमले आर्थिक वर्ष २०७७÷०७८ मा ३ अर्ब घाटा व्यहोरेको थियो । त्यसपछि निरन्तर घाटामा जान थालेको हो ।

निगमलाई ईन्डियन आयल कर्पाेरेशनले हरेक १५ दिनमा नयाँ मुल्यसुची पठाउने गर्दछ र सोही आधारमा निगमले मूल्य समायोजन गर्दै आएको जनाएको छ ।

निगमले शुक्रबारमात्रै पेट्रोल र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने ग्यासको मुुल्यमा ५० रुपैयाँ प्रतिसिलिन्डर बढाएको छ । जसको चौतर्फी आलोचना र विरोध हुँदै आएको छ ।