
पोखरा, कात्तिक १६ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयमै सञ्चालनमा ल्याउन सहजीकरण गर्ने गरी गण्डकी प्रदेश सरकारले समिति गठन गरेको छ ।
कात्तिक ८ गतेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्री मणिभद्र शर्माको संयोजकत्वमा ९ सदस्यीय समिति बनाएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काका अनुसार समितिका सदस्यमा पोखरा महानगरपालिकाका प्रमुख वा उपप्रमुख, प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, भौतिक सचिव, उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष र परियोजना प्रमुख हुने छन् । पर्यटन मन्त्रालयका सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको जानकारी मन्त्री खड्काले दिनुभयो ।
मन्त्रिपरिषद बैठकले घरेलु तथा साना उद्योग कार्यालय गोरखा, लमजुङ, मनाङ, मुस्ताङ तनहुँ, स्याङ्जा, नवलपुर, कास्की, पर्वत, म्याग्दी, बागलुङ र कास्कीमा आउँदो ७८/७९ का लागि ९२ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
मन्त्री खड्काले कात्तिक ३ गतेको मन्त्रिपरिषद बैठकले प्रदेश नीति तथा आयोगको आर्थिक वर्ष ७७/७८ वार्षिक प्रतिवेदन मुख्यमन्त्रीमार्फत् प्रदेश सभामा पेस गर्ने निर्णय गरेको बताउनुभयो ।
मन्त्रिपरिषदले अस्पताल व्यवस्थापन समितिको गठन आदेश २०७५ को पहिलो संशोधनलाई पनि स्वीकृत गरेको छ । यसअघि ७ सदस्यीय व्यवस्थापन समिति रहेकोमा संशोधनपछि ९ सदस्यीय बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्