
काठमाडौं । ललितपुर उपमहानगरपालिका वडा नम्बर १२ पाटनको मंगलबजारमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ भएको आगलागीमा एकै परिवारका चार जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार छन् । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले घरको तेस्रो तलामा दियोबाट आगो सल्किएको र आगो बढ्दै गएर भान्छामा रहेको ग्यास सिलिण्डरसमेत पड्किएको हुनसक्ने बताउनुभयो ।
चार तले काठको कच्ची घर रहेको र साँघुरो गल्ली भएकाले दमकल छिर्न गाह्रो परेको थियो ।
प्रतिक्रिया दिनुहोस्