१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


प्रधानन्यायाधीश राणामाथि वकीलले लगाए गम्भीर आरोप, इतिहासकै भ्रष्ट र असक्षमको आक्षेप


0
Shares

काठमाडौं, कात्तिक २२ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा रहेका वकीलहरुले उहाँको क्षमता र आचरणमाथि प्रश्न उठाउँदै गम्भीर आरोप लगाएका छन् ।

दोस्रो चरणको आन्दोलनमा होमिएका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा नेपालको न्यायिक इतिहासमा सबैभन्दा भ्रष्ट र असक्षम न्यायाधीश भएको आरोप लगाएका हुन् ।

नेपाल बार एसोसिसनले आयोजना गरेको विरोध कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश राणाको आचरणमाथि प्रश्न उठाउँदै भन्नुभयो, ‘प्रधानन्यायाधीशको गैरन्यायिक आचरणको कारणले अहिले संकट देखिएको हो । पहिले विवाद थियो । अहिले संकट बनेर आयो । उहाँ समस्याको समाधान होइन, कारण हो । न्यायपालिकाका लागि सबैभन्दा ठूलो भनेको जनताको विश्वास हो त्यो प्रधानन्यायाधीशको कारण संकटमा परेको छ ।’

न्यायपालिका भंग हुने अवस्थामा पुगेकाले राणाले राजीनामा दिनुको विकल्प नभएको भन्दै त्रिपाठीले भन्नुभयो, ‘न्यायापालिका कोल्याप्स हुनु भनेको संविधान कोल्याप्स हुनु हो र राज्य कोल्याप्स हुनु हो ।’

प्रधानन्यायाधीश राणा जतिको असक्षम र भ्रष्ट नेपालको न्यायिक इतिहासमा कोही पनि नभएको गम्भीर आरोप लगाउँदै त्रिपाठीले भन्नुभयो, ‘प्रधानन्यायाधीशले पद त्याग नगरुन्जेलसम्म यो आन्दोलन जारी रहन्छ ।’

प्रधानन्यायाधीश राणाको राजीनामा न्यायपालिकाको शुद्धिकरणका लागि भएको तर्क गर्दै अर्का कानूनव्यवसायी रमनकुमार कर्णले प्रधानन्यायाधीशको सडकबाट भन्दा न्याय परिवारबाटै राजीनामा माग भएको बताउनुभयो ।