
काठमाडौं, कात्तिक २२ । नेपालमा १८ वर्षमाथिका ३७.३ प्रतिशत नागरिकले कोरोनाको दुबै मात्रा खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक २१ गतेसम्म ७४ लाख ३४ हजार ७९७ जनाले दुबै डोज र ८७ लाख ३६ हजार ५३२ जनाले पहिलो डोज खोप लगाएका हुन् ।
जसमध्ये एष्ट्राजेनेका खोपको पहिलो डोज २९ लाख ६ हजार १२६ जना र दोस्रो डोज १६ लाख ८१ हजार ४२३ जनाले लगाएका हुन् । त्यस्तै भेरोसेल खोपको पहिलो डोज ५८ लाख ३० हजार ४०६ जनाले र दोस्रो डोज ४२ लाख ९ हजार ८७७ जनाले लगाएको मन्त्रालयले जनाएको छ ।
जोन्सन एण्ड जोन्सन खोप नेपालमा १५ लाख ४३ हजार ४९७ जनाले लगाएको मन्त्रालयको तथ्यांक छ । नेपालमा २८ गतेदेखि १२ देखि १८ वर्षसम्मका दीर्घरोगीलाई फाइजर खोप दिइँदैछ ।
यसैबीच चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको खोप दिएको छ । चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गर्नुभएको हो ।
खोपसँगै चीनले १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई उपलब्ध गराएको छ । नेपाली सेनाले आज विज्ञप्ति जारी गरेर चीनको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्